हङकङ, असार २८
हङकङमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएको पाइएको भन्दै हङकङका सबै विद्यालय बन्द गरिएको छ । शनिबार पनि थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसलाई विज्ञहरुले कोरोनाको तेस्रो लहर सुरु भएको टिप्पणी गरेका छन् । हङकङ सहरका शिक्षामन्त्री केभिन योङले विगत केही दिनदेखि कोरोनाभाइरसको संक्रमण तीव्र भएको देखिएपछि बालबालिकाको सुरक्षाका लागि आगामी सोमबारदेखि विद्यालयहरु बन्द गर्नुपरेको जानकारी दिए ।
आर्थिक केन्द्रका रुपमा चर्चित हङकङमा बिहीबार समुदाय स्तरमा ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । तीन महिनाको अवधिमा यतिठूलो संख्यामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । तर परीक्षाको तयारी गरिरहेका विद्यार्थीले भने परीक्षा दिन पाउने उनले बताए । तर त्यस्ता विद्यार्थीले मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्नेछ ।
हङकङका सरकारी माध्यमिक विद्यालयहरु भाइरस संक्रमण देखिएको भन्दै गत जनवरीमा पनि बन्द गरिएका थिए । नयाँ संक्रमणमा नियन्त्रण कायम गरेपछि विद्यालयहरु गत मे महिनाबाट खुलेका थिए । तर पछिल्लो दुई दिनमा निकै ठूलो संख्यामा संक्रमित भेटिएका अधिकारीहरुले बताएका छन् जसमा एउटा वृद्धवृद्धा राखिने केएर होमका ३२ जना पनि संक्रमित भएका छन् ।
स्थानीय अधिकारीहरुले बिहीबार नै शहरका रेस्टुराँ, बार र फिटनेस केन्द्रमा कति जनासम्म व्यक्ति भेला हुन पाउने भन्ने बारेमा नयाँ नियम घोषणा गरेका छन् । नयाँ नियम अनुसार रेस्टुराँमा एक पटकमा आठ जना तथा पब र रात्रिक्लबमा प्रति टेबल चार जना मात्र बस्न पाइनेछ । (रासस/एएफपी)