काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बैंकले अपाङ्गता भएका व्यक्तिहरूको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्नका निमित्त उपलब्ध स्रोत साधनहरूको अधिकत्तम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखाको रूपमा विकास गर्न प्रयास गर्नेछ । साथै, अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा प्रदान गर्नका लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रूपमा खटाइएको छ ।
साथै, संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’लाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहीनहरूलाई सहयोग गर्ने उद्देश्यअनुरूप बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच सेतो छडीलगायतका सामग्रीहरू समेत वितरण गरिएको छ । यस किसिमका कार्यहरूबाट अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवनयापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।