काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्युआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्युआरमा अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ । यसबाट चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिय, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्वीडेन, इटलीलगायतको देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत बैंकको नेपाल पे क्युआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्युआरमा सजिलै भुक्तानी गर्न सकिने भएको छ । यस प्रकारको सेवाहरूले विदेशी पर्यटकलाई नगद बोक्ने झन्झट नहुनुको साथै नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल सेवामा मात्र नभई विकास बैंकमध्ये नेपालकै पहिलो सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फन्ड यही मंसिर २० गतेबाट बिक्रीमा ल्याउन लागेको छ ।