काठमाडौं । नेपाल टेलिकमले मोबाइल पोईन्ट अफ सेल (एमपोस) रिचार्जमा बोनस उपलब्ध गराएको छ । कम्पनीले आगामी पौष १७ गते सम्मका लागि सो रिचार्जमा बोनस उपलब्ध गराएको जानकारी दिएको हो ।
टेलिकमका अनुसार ५० देखी एक सय रुपैयाँसम्मको रिचार्जमा २० मिनेट अननेट भ्वाइस र एक सयदेखि दुई सय रुपैयाँसम्मको रिचार्जमा ५० मिनेट अननेट भ्वाइस पाइनेछ । सो बोनस तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । यस्तै, दुई सय देखि पाँच सय रुपैयाँसम्मको रिचार्जमा दुई दिन चलाउन मिल्ने दुई जिबी डाटा पाइनेछ भने पाँच सय रुपैयाँ र सोभन्दा माथिको रिचार्जमा चार दिन चलाउन मिल्ने आठ जिबी डाटा पाइने टेलिकमले जनाएको छ । टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरू अपनाउन सकिन्छ । यसका लागि एमपोस, नमस्ते पे, इ–सेवा, खल्ती, आईएमई पे–लगायतका डिजिटल वालेटहरू प्रयोग गर्न सकिन्छ । यस्तै, विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था पनि कम्पनीले गरेको छ । साथै, ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरूको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताहले स्टार्ट टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा स्टार१४७७ह्याक्स डायल गरी १ छनौट गरेर सापटी लिन सक्नेछन् ।