काठमाडौं, असार २८
विश्वभर कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी संक्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ । उक्त विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर ७३ लाख कोरोना भाइरस संक्रमित निको भई घर फर्किसकेका छन् भने ४७ लाख व्यक्ति अझै पनि संक्रमित रहेका छन् ।
विश्वमै सवैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा विगत २४ घण्टामा कोरोनाभाइरसबाट संक्रमितको संख्या अहिलेसम्मकै धेरै ६३ हजार ६ सय ४३ पुगेको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरेको तथ्यांकमा उल्लेख छ । योसँगै अमेरिकामा शनिबारसम्म संक्रमितको संख्या ३२ लाख ९१ हजार ७ सय ८६ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा अमेरिकामा कोभिड–१९ संक्रमित ७ सय ७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख ३६ हजार ६ सय ७१ कोभिड–१९ संक्रमितको मृत्यु भएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।
त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको ब्राजिलमा १८ लाख चार हजार ३३८ जना संक्रमित भएका छन् भने ब्राजिलमा कोरोनाका कारण ७० हजार ५ सय २४ जनाको मृत्यु भएको छ । संक्रमणका दृष्टिकोणले अमेरिका र ब्राजिलपछि बढी संक्रमित भारतमा भएका छन् । भारतमा आठ लाख २२ हजार ६ सय ७४ व्यक्ति संक्रमित भएकोमा ६२ प्रतिशतभन्दा बढी निको भई घर फर्किएका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । भारतमा शनिबारसम्ममा २२ हजार १ सय ५२ जनाको मृत्यु भएको छ ।
त्यसपछि बढी संक्रमण पुष्टि भएका मुलुकहरू, रूसमा (संक्रमित सात लाख २० हजार ५ सय ४७ र मृत्यु ११ हजार २ सय ५), पेरू (संक्रमित तीन लाख १९ हजार ६ सय ४६ र मृत्यु ११ हजार ५ सय), चिली (संक्रमित तीन लाख ९ हजार २ सय ७४ र मृत्यु छ हजार ७ सय ८१) र स्पेनमा (संक्रमित तीन लाख ९ सय ८८ र मृत्यु २८ हजार ४ सय ८) रहेको छ । अन्य बढी प्रभावित मुलुकहरूमा इटली, फ्रान्स, बेलायत, इरान र पाकिस्तानलगायत रहेका छन् ।