काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसाद एवं पर्यटन राज्यमन्त्रीको रुपमा पदासीन अरुणकुमार चौधरीको योग्यता विवाद सम्बन्धिको मुद्दा फैसलाको चरणमा प्रवेश गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले यस विवादमा सुनुवाई सकेर आउँदो पुस १७ गते सुनाउने मिति तोकेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासले बुधबार सुनुवाइ सकेर निर्णय सुनाउने मिति तोकेको थियो ।
अधिवक्ता वसन्त जोशीले फौजदारी कसुरमा सजाय ठहर भएका चौधरीको सांसदको उम्मेदवार बन्नका लागि योग्यता नपुग्ने भएकाले उनी निर्वाचित भएको भन्ने निर्वाचन आयोगको घोषणा बदर हुनुपर्ने माग गरी रिट दायर गरेका थिए।
चौधरीमाथि २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाइँले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरुद्ध मुद्दा दायर गरेका थिए।
ट्याक्टरमा आगजनी गरेको कसुरमा कैलाली जिल्ला अदालतले २०७० सालमा दोषी ठहर गरी ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको थियो। २०७९ फागुन ७ गते राष्ट्रपतिबाट माफी पाएपछि उनी रिहा भएका थिए।