काठमाडौं । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको पूर्वाधार निर्माणमा स्वदेशी विदेशी ठूलो लगानी, प्रविधि र विज्ञताको आवश्यकता रहेको बताएका छन् ।
नेपाली वास्तुविद् समाज (सोना) र ग्लोबल बिजनेस रिकनेक्टको संयुक्त आयोजनामा काठमाडौंमा सुरु भएको आर्कबिल्ड एक्स्पोमा उनले नेपाल आधुनिक विकासको प्रयासमा अगाडि बढिरहेकाले दिगो विकासका लागि लगानीसँगै प्रविधि र विज्ञताको खाँचो रहेको बताए । सन् २०२६ सम्म नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको श्रेणीमा स्तोरोन्नति हुने प्रयासमा रहेको उनले बताए । यो विकास प्रयासमा खासगरी आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी विदेशी ठूलो लगानी, प्रविधि र विज्ञताको आवश्यकता रहेको उनको भनाइ थियो । यस्तै, उनले जलवायु परिवर्तनजन्य एवं अन्य विपत्का घटनाहरूले विकास प्रयासलाई ओझेलमा पार्ने गरी विनासकारी प्रभावहरू बढेर गएको तर्फ चिन्ता व्यक्त गरे । यहाँका सहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरूको खोजी गर्नु आजको चुनौती रहेको उनले बताए ।
कार्यक्रममा उनले नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती, स्थानीय मौलिक वास्तुकला, निर्माण शैली, यसबाट सिर्जित निर्मित वातावरण र मूर्तअमूर्त सांस्कृतिक सम्पदाहरू नेपालको ठूलो सम्पत्ति रहेको बताए । तर अहिलेको निर्माण पद्धतिहरूमा मौलिकताको पक्ष ओझेल पर्दै गएको उल्लेख गरे । नेपाली पहिचानको धरोहरको रूपमा रहेको नेपाली वास्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीपनसहितको दिगो बनाउन सही दिशानिर्देश गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए ।
नेपाल अहिले तीव्रत्तर सहरीकरणको प्रक्रियाबाट गुज्रिरहेको र गाउँबाट मानिसहरू विभिन्न अवसरको खोजीमा सहरमा बसाइँसराइ गर्ने प्रवृत्ति बढेको उनले बताए । ‘विश्व परिवेशलाई हेर्दा सहरीकरणलाई रोक्न नसकिने र यसको व्यवस्थापनको विकल्प नरहेको देखिएको छ’, उनले भने, ‘नेपालमा सहरीकरणलाई व्यवस्थापन गर्ने क्रममा सहरमा रोजगारी, सेवा पूर्वाधारको वृद्धि गर्न अहिले भएका प्रयासहरू प्रयाप्त छैनन् ।’ योजनाबद्ध सहरी विस्तार, भू–उपयोग र भौतिक विकासको नियमन र रणनीतिक हिसाबले एकीकृत पूर्वाधारमा लगानी गर्न सकिएन भने यसबाट दीर्घकालमा गम्भीर सामाजिक, आर्थिक र वातावरणीय असरहरू भोग्नुपर्ने उनको भनाइ थियो । यी चुनौतीहरूको सामना गर्न नेपाली वास्तुविद् र इन्जिनियरिङ समुदायको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए ।
वास्तुकला क्षेत्रमा विशेष गरी कृषि, हरित ऊर्जा, योग, साधना, आयुर्वेद र प्राकृतिक उपचारसहितको स्वास्थ्य हेरचाह, मनोरञ्जन, साहसिक र पर्यापर्यटनको आतिथ्यताको क्षेत्रको पूर्वाधार निर्माणमा अथाह सम्भावना राख्ने भन्दै उनले यी क्षेत्रको उन्नयनमार्फत नेपालको समृद्धिको यात्रामा सहभागी हुन आग्रह गरे । नेपाली वास्तुविद्हरूको भूमिकालाई थप प्रभावकारी बनाउन गरिनुपर्ने नीतिगत र संस्थागत सुधारका लागि सहरी विकास मन्त्रालय तत्पर रहेको उनले बताए । बिहीबारबाट सुरु भएको एक्स्पो तीन दिन चल्ने आयोजकले जनाएको छ ।