काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करिब एक सय तीन जनाको उपस्थिति रहेको थियो ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयको तर्फबाट प्रतिनिधि राजेन्द्र पाठकले दैनिक जीवनका जोखिमहरू, जोखिम व्यवस्थापनमा बीमाको महत्वका साथै लघुबीमाको आवश्यकता र हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रचलनमा ल्याएका लघुबीमालेखको बारेमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बोल्दै पुष्पा खनालले प्राधिकरणको प्राथमिकताको क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सहकार्य गरी कार्य गरेकोमा खुसी व्यक्त गरिन् भने प्रमुख अतिथिले निर्जीवन बीमाको क्षेत्रमा भन्झटरहित दाबी भुक्तानी प्रक्रियासहितको प्रस्तुतिका लागि धन्यवाद व्यक्त गरे । कार्यक्रमको समापनको क्रममा अध्यक्ष निरौलाले सहज सहकार्यका लागि प्रोटेक्टिभ माइक्रोका इटहरी प्रमुख धना भट्टराईलाई धन्यवाद ज्ञापन गर्दै छिट्टै नै कार्यगत एकता गरेर महासंघसँग आबद्ध सम्पूर्ण व्यवसायीहरूलाई लघुबीमाको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिस्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमति प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले कोशी प्रदेशको इटहरी, विराटनगर, उर्लाबारी र बिर्तामोडमा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ ।