काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इ–सेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अञ्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छन् । मङ्सिर १२ गते बुधबार इ–सेवा मनि ट्रान्सफर र इ–सेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहारस्वरूप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो । प्रत्यक्ष प्रसारणमार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट अञ्जुला घिमिरेले महालक्ष्मी नगरपालिका ललितपुर वडा नं ३ इमाडोलमा करिब तीन आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भए । विजेता अञ्जुला घिमिरेले रोमानियाबाट इ–सेवा मनी ट्रान्सफरमार्फत इ–सेवा वालेटमा रेमिट्यान्स पठाएका थिए ।
इ–सेवा मनी ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन गर्न र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो । यसैअन्तर्गत २०८० असोज १ देखि कात्तिक ३० गतेसम्म रेमिट्यान्स पठाउने सहभागीमध्येबाट एक जनालाई बम्पर उपहारस्वरूप काठमाडौंमा घर दिने घोषणा गरेको थियो । कार्यक्रममा इ–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरे । उनले भने, ‘मेरो डिजिटल देश’ अभियानले रेमिट्यान्सलाई वैधानिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । देशलाई डिजिटल बनाउने हाम्रो यस अभियानप्रति योगदान पुर्याउने सबै नेपालीलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि रेमिट्यान्सलाई डिजिटल र विश्वसनीय बनाउँदै थप प्रभावकारी सेवा प्रदान गर्नेछौँ ।’
इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले विजेतालाई बधाई दिँदै भने, ‘डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै विश्वभर रहेका नेपालीहरूलाई आफ्नो देश र परिवारसँग अझ नजिक बनाउन ‘मेरो डिजिटल देश’ अभियानले महत्वपूर्ण योगदान पुर्याएको छ । यस अभियानमार्फत हामीले इ–सेवाबाट रेमिट्यान्स सेवा सहज, छिटो र विश्वसनीय बनाउँदै विदेशमा रहेका नेपालीहरूको मेहनतको कमाइलाई उनीहरूका प्रियजनहरूसम्म सुरक्षितरूपमा पुर्याउने प्रयास पनि गर्यौँ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त इ–सेवा मनी ट्रान्सफरले परम्परागत शैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । इ–सेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूको माध्यमबाट सेवा दिने यो कम्पनी, एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो । यसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ ।