काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपैयाँ रहेको छ । सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८ दशमलव ९२ प्रतिशतले वृद्धि गरी कुल एक खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २० दशमलव ६९ प्रतिशतले वृद्धि गरी कुल दुई खर्ब १५ अर्ब ५१ करोड पुर्याएको छ । बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १७ दशमलव ७२ प्रतिशतले वृद्धि गरी कुल सात अर्ब ५१ करोड आर्जन गरेको छ । उनले सेयरधनीहरूमाझ भने, यसले दीर्घकालीनरुपमा आफ्ना सेयरधनीहरूलाई बैंकले दिनसक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिवृद्धि गर्दै लगेको र आगामी वर्षहरूमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको जानकारी समेत दिए ।
साधारणसभामा सेयरधनीहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिका बीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिसन आम्दानी एवं गैरकोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेखनीय वृद्धि गर्दै लगेको जानकारी गराए ।