काठमाडौँ । चौतारी र युनियनका नेताहरूबिच गएराति भएको छलफलमा नेपाल पत्रकार महासङ्घको आगामी २८ गते हुने महाधिवेशनमा नेतृत्वका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट प्रेस चौतारी र प्रेस युनियनबिच भागबन्डा भएको छ ।
महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित ५ पद लिने भएको छ भने युनियनले ८ पदमा उम्मेदवारी दिने भएको छ । प्रेस चौतारीका उपाध्यक्ष राजेश राईले जिल्ला अध्यक्षमा चौतारीले ३२ र युनियनले ४२ वटा लिने सहमति भएको बताएका छन् ।
केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा चौतारीले पाएको र अरु बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी दिने सहमति भएको उनले बताए ।
चौतारीले प्रदेशमा कोशी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष लिने अनी बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिने गरी सहमति भएको छ । शुक्रवार महाधिवेशनका लागि मनोनयन दर्ता हुँदैछ ।