काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापुँजी दुई अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको छ । यस्तै, कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १० गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले लगातार दोस्रो वर्ष १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट पनि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र पाँच मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो ।