काठमाडौं । प्रथम महिला नेतृ मंगलादेवी सिंहको जन्म शताब्दी बर्षको अवसरमा छत्रपाटी निशुल्क चिकित्सालयले आगामी २५ गते मंगलबार निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
उक्त शिविर छत्रपाटी विहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म संचालन हुने जनाइएको छ । २०४६ सालको ऐतिहासिक जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहकी धर्मपत्नी मंगलादेवी सिंहले नेपालको प्रजातन्त्रिक आन्दोलनमा लामो कारावास र निर्वासित जिवन विताउनु भएको थियो ।
जहानीयाँ राणा कालमै महिलालाई पनि मतदान लगायत समानताको अधिकारको माग गर्दै संघर्षको नेतृत्व गर्ने मंगलादेवी वडाकाजी खान्दानको सुखसयलको जीवन त्यागेर जनताको अधिकारको लागि संघर्षको नेतृत्व गर्ने प्रथम महिला हुन । संघर्षको गौरवमय जीवन गाधाले भरिएकी उनै मंगलादेवी सिंहको संम्झनामा छत्रपाटी निशुल्क चिकित्सालयले निशुल्क स्वास्थ्य शिविर गर्न लागेको हो ।