विगतको निकै बलियो र सबल संस्था अहिले किन कमजोर बन्दै गयो ?
यसमा धेरै कारणहरु छन् । केही आन्तरिक छन् भने केही बाह्य छन् । लघुवित्तपीडितको नाममा दुर्गा प्रसाईँले जुन आन्दोलन गरे, त्यसले सबै लघुवित्तलाई धेरैथोरै समस्या पर्यो । लघुवित्तको २० देखि २५ लाख रुपैयाँसम्मको कर्जा मिनाह हुन्छ, तिर्नु पर्देन भनेर प्रसाईँले नागरिकहरुलाई सडकमा ल्याए । नागरिकहरुले पनि तिर्नै पर्देनजस्तो गरे । अहिलेसम्म पनि कर्जा तिरेका छैछन् । अर्कोतर्फ बजार पनि खासै चलायमान हुन सकेको छैन । यी दुवै कारण हामी मारमा पर्यौँ ।
अहिलेसम्म कर्जा चुक्ता गर्न आउनको लागि कति जना ग्राहकको नाम सार्वजनिक गर्नुभयो ?
निर्धनमा अहिले सबै किसिमका गरी चार लाखको संख्यामा ग्राहकहरु छन् । त्यसमध्ये कर्जावाला ग्राहकको संख्या मात्र एक लाख ८२ हजार छ सय १४ छ । धेरैजसो राम्रा ग्राहक छन् । एकाध व्यक्तिहरु जो प्रसाइको नजिक भएर कर्जा तिरेका छैनन् । हालसम्म हामीले ११ सय ५० जनालाई कर्जा नतिरेकै आधारमा कालोसूचीमा राखेका छौँ । त्यसमध्ये पनि पछिल्लो समय ३५ जनाले कर्जा चुक्ता गरिसक्नुभएको छ । अहिलेसम्म हामीले कर्जा चुक्ता गर्न आउनको लागि भन्दै छ हजार तीन सय जना ऋणीको नाम सार्वजनिक गरिसकेका छौँ ।
किन यति धेरै संख्यामा नाम सार्वजनिक गर्नुपर्ने अवस्था आयो ?
सम्भवतः लघुवित्त संस्थाहरुमध्येमा सबैभन्दा धेरै ऋणीहरुको नाम सार्वजनिक गर्ने हामी नै हो । नाम सार्वजनिक गर्नुको प्रमुख उद्देश्य धितो लिलामी होइन । हामीले ऋणीहरुलाई कर्जा चुक्ता गर्न आउनको लागि नैतिक दबाब परोस्, उसलाई जिम्मेवारीबोध होस्, पत्रपत्रिकामा नाम आउँदा ऋण तिनुपर्छ भन्ने मानसिक दबाब परोस् भनेर नाम सार्वजनिक गरेका हौँ ।
अझै कति ऋणीहरूको नाम सार्वजनिक गर्दै हुनुहुन्छ ?
अब हामी पहिले जस्तो ऋणीहरुको नाम सार्वजनिक गर्ने पक्षमा छैनौँ । पत्रपत्रिकामा नाम सार्वजनिक गर्न केही कम गर्छौँ । धेरै नाम सार्वजनिक ग¥यो भने, ए यो यस्तै हो, भन्ने खालको भ्रम पैदा हुँदो रहेछ । त्यसको प्रभावकारिता कम हुँदो रहेछ ।
अन्तमा के भन्नुहुन्छ ?
संस्थामा विगतको तुलनामा केही समस्या देखिएको हो । यो समस्या हाम्रोमा मात्र होइन, सिङ्गो वित्तीय क्षेत्रमा देखिएको छ । हामी सुधारको प्रक्रियामा छौँ । संस्था पुनः बलियो बन्दै गएको छ । ग्राहकहरुमा ऋण लिएपछि समयमा नै तिनुपर्छ भन्ने दायित्वबोध होस् । कसैले कुनै पनि संस्थाको ऋण लिएपछि तिर्नुपर्दैन भनेर भुलभुलैमा पार्छ भने त्यस्तो भ्रममा नपरौँ, ऋण लिएपछि तिर्नै पर्छ । बैंकिङ सिद्धान्त नै यही हो ।