दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा सञ्चालित पाँचौँ बैतेश्वर गाउँपालिका अन्तरविद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सनराइज एकेडेमीले जितेको छ । बैतेश्वर–२ मा रहेको सनराइज एकेडेमीले सातवटा सामुदायिक विद्यालयहरूलाई पछि पार्दै उपाधि हात पारेको हो । सनराइज एकेडेमीले नौ स्वर्ण, दुई रजत दुई कास्यसहित १३ पदक जितेको छ । त्यसैगरी प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय उपविजेता बनेको छ । जनज्योतिले छ स्वर्ण, तीन रजत र दुई कास्य गरी १३ पदक जितेको हो । कालीढुङ्गा माध्यमिक विद्यालयले प्रतियोगितामा तीन स्वर्ण, छ रजत पाँच कास्य गरी १४ पदक प्राप्त गर्दै प्रतियोगिता तेस्रो बनेको छ । पाँचौँ रनिङ शिल्डमा कालीढुङ्गा माध्यमिक सबैभन्दा बढी पदक प्राप्त गरे पनि तेस्रो बनेको हो । प्रतियोगितामा कालिका माध्यमिक विद्यालय, बैतेश्वर माध्यमिक, जलदेवी माध्यमिक विद्यालय र क्षत्रवति माध्यमिक विद्यालय भने एक/एक स्वर्ण प्राप्त गरेका छन् ।
बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतमा शनिबार आयोजित रनिङ शिल्डको समापन कार्यक्रममा विजयी खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्ले गरेका थिए ।