काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको निर्माण क्षेत्रले गति लिन नसक्नुमा राज्य र व्यवसायी दुवैको कमजोरी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले १७औँ राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजना गरेको प्रभातफेरि कार्यक्रममा मन्त्री दाहालले निर्माण उद्योगमा देखिएका समस्या समाधान गर्न राज्य र निर्माण व्यवसायी दुवै मिल्नुपर्ने बताए । भौतिक पूर्वाधारमा हुने प्रगति नै सरकारको सफलताको मानक भएकाले यस क्षेत्रको विकासका लागि सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो । राज्यको आफ्नै निर्माण कम्पनी नभएको अवस्थामा देशलाई समृद्ध बनाउने जिम्मा निर्माण व्यवसायीहरूकै काँधमा भएको उनले बताए । सार्वजनिक खरिद ऐन तथा नियमावलीमा रहेका समस्याले गर्दा पनि निर्माण उद्योगमा धेरै जटिलता देखिएको उनको भनाइ थियो । यस्तै, उनले व्यवसायीहरूलाई समयमै भुक्तानी गर्न नसक्नु राज्यको कमजोरी भएको स्वीकार गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको समस्यालाई राज्यले गम्भीररूपमा नलिँदा एकपछि अर्को समस्या उत्पन्न भइरहेको बताए । निर्माण उद्योग मारमा परेकाले मुलुकको समग्र अर्थतन्त्र नै समस्यामा परेको उनको भनाइ थियो । महासंघका महासचिव रोशन दाहालले सिमेण्ट, डण्डीलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग थप सकसमा परेको बताए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको प्रभातफेरि थापाथली, माइतीघरमण्डला, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगर पुगी समापन भएको थियो । १७ औँ राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा शनिबार नै महासंघ सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । साथै, देशभरका जिल्ला निर्माण संघ तथा प्रदेश महासंघहरूले पनि १७ औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको महासंघले जनाएको छ ।