काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारलाई उच्च राजस्व बुझाउने व्यवसायीहरूलाई सम्मान गरेको छ । परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरूलाई सम्मान गरेको हो ।
सरकारले १६ जना (संस्था तथा व्यक्ति)लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनीहरू छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । आर्थिक वर्ष २०७८-७९ मा वस्तु निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल, एकलौटी फर्ममध्येबाट सबैभन्दा बढी आयकर तिर्ने श्रुति ट्रेडर्स, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कोडावतार, कृषि एवं पशुुपन्छीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने पतञ्जली आयुर्वेद, बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंकलाई परिसंघले सम्मान गरेको हो ।
यस्तै, स्वास्थ्य तथा शैक्षिक संस्थामध्येबाट सबैभन्दा बढी आयकर तिर्ने लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने तारागाउँ रिजेन्सी होटेल, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई परिसंघले सम्मान गरेको छ ।
यसैगरी विसंं २०७५ साउनदेखि २०८१ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदाताहरूमध्ये आर्थिक वर्ष २०७९-८० को आयविवरणअनुसार सबैभन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वेभरेज नेपाल र व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने जावलाखेल गु्रप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसंघले सम्मान गरेको छ । शाह परिसंघका उपाध्यक्ष समेत हुन् ।
परिसंघ सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले करदाताहरूलाई सम्मान गरेका थिए । उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको उनले बताए । योगदानको कदर गर्दै उत्पादनमूलक तथा सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले उच्च करदातालाई सम्मान गरेको उनले जानकारी दिए ।