काठमाडौं, असार २९
अवैध मिर्गौला प्रत्यारोपण गरेको भन्दै नेपाल प्रहरीले प्रहरी, चिकित्सक र जनप्रतिनिधिलाई पक्राउ गरेको छ । मानव बेचविखन अनुसन्धान ब्युरोका अनुसार कलेज अफ मेडिकल साइन्स (सीएमएस) भरतपुरमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गरेको भन्दै प्रहरीले १२ जनालाई प्रक्राउ गरेको हो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ उपदाफा–१ (ग) को कसुर गरेको देखिएकोले सोही ऐनबमोजिम पक्राउ गरेर हिरासतमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । पक्राउ पर्नेमा कलेज अफ मेडिकल साइन्सेस टिचिङ हस्पिटल भरतपुरका प्रमुख सञ्चालक ५५ वर्षीय डा. सुप्रभात श्रेष्ठ, सोही अस्पतालमा कार्यरत ५० वर्षीय डा. बालकृष्ण कालाखेती, नोवल अस्पतालका ६५ वर्षीय डा. राकेश कुमार बर्मा र अस्पतालका कानुनी सल्लाहकार ४० वर्षीय रमेश काफ्ले रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनमा प्रकाशकीय अधिकृतमा कार्यरत ५४ वर्षीय रामचन्द्र ढकाल, काठमाडौँको टोखा नगरपालिका ३ निवासी प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, काठमाडौँ महानगरपालिका–३ रानीबारी बस्ने निलम्बित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया, भक्तपुर निवासी रेश्मा राई, सोही जिल्ला निवासी जमुनाराज भण्डारी, ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ५७ वर्षीय गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन खरिदार (हाल अवकाशप्राप्त) ५८ वर्षीय नवराज केसी र कार्यालय सहायक राजकुमार केसी रहेका छन् ।
ब्युरोका अनुसार गत कात्तिक ३ गते अवैध मिर्गौला प्रत्यारोपणको उजुरी परेको थियो । उजुरीमा उजुरीकर्ताले नाम उल्लेख गरेका छैनन् । प्रहरीका अनुसार रेश्मा राईले मिर्गौला प्रदान गर्न एक २७ वर्षीय पुरुषलाई मिर्गौलादाताको रुपमा तयारी पारेकी छिन् भने उनलाई सहयोग गर्नेमा निलम्बित प्रहरी नायब निरीक्षक थपलिया र प्रहरी सहायक निरीक्षक खनाल रहेका छन् । मिर्गौला बिरामीको थपलिया यसअघि पनि गैरकानुनी मिर्गौला प्रत्यरोपणमा संलग्न भएको अरोपमा कारबाहीमा परिसकेकी छिन् । त्यसैगरी प्रहरी खनालले भने डा. बर्मासँग प्रत्यारोपणको लागि व्यवस्थापन गर्नको लागि वातावरण निर्माण गर्नको लागि साँठगाँठ गरेका छन् । डा. बर्मा मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत हुन् ।