बाजुरा । बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा जिल्ला सदरमुकाम मार्तडीमा आइतबार दिउँसो स्कोरपियो दुर्घटना भएको छ । सो दुर्घटनामा एक जनाको घटनास्थलमा र अर्को एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराले सुप प्र ०१ ००१ च ४३१६ नम्बरको स्कोरपियो मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपि होटल नजिकै दुर्घटना भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको घटनास्थलमा र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की राधिका भट्टको मृत्यु भएको जानकारी दिए ।
जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त दुर्घटनामा घाइते भएको उनले बताए ।
उनले दिएको जानकारीअनुसार घटनामा परेर मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पतालदुर्घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको भन्दै प्रनाउ गिरीले उनीहरूको हेलिकप्टरमार्फत थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजाने पहल भइरहेको बताए । उनका अनुसार घटनामा परेर मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।