काठमाडौं । नेपालमा द्विपक्षीय लगानी तथा आर्थिक विकासका लागि नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) ले सहकार्य गर्ने भएका छन् । दुई पक्षबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक सम्झौता भएको हो ।
एनपीईएका अध्यक्ष सिद्धान्तराज पाण्डे र एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा नेपालमा आकर्षक लगानीको वातावरण सिर्जना गर्न तथा नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन लक्ष्य राखिएको छ । त्यसका लागि रणनीतिक साझेदारी गर्न दुवै संस्था सहमत भएका हुन् । सम्झौताअनुसार एनपीईए र एमच्यामबीच मुख्यतः स्रोतको आदानप्रदान, विभिन्न कार्यक्रममा सहभागिता र बजार विश्लेषणका क्षेत्रमा सहकार्य हुनेछ । एमच्यामसँगको साझेदारीले नेपालमा निजी क्षेत्रको प्रगतिको लागि महत्वपूर्ण भूमिका खेल्ने एनपीईएका अध्यक्ष पाण्डेले बताए । यस सहकार्यमार्फत ज्ञान आदानप्रदान, नयाँ लगानीका अवसरहरू पहिचान तथा व्यापार वृद्धिका लागि एक सशक्त प्रणाली निर्माण गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
एमच्यामका अध्यक्ष श्रेष्ठले नेपाल र अमेरिकाबीच द्विपक्षीय व्यापार र लगानी प्रवद्र्धनका लागि यस्ता प्रकारका सहकार्य हुनुपर्ने बताए । उनले भने, ‘यो साझेदारीले दुवै संस्थालाई मूल्यवान जानकारी र स्रोत प्रदान गर्ने मौका दिनुका साथै दुवै पक्षका व्यवसायहरूलाई नयाँ अवसरहरूको खोजी गर्न मद्दत पु¥याउनेछ ।’ सम्झौताअनुसार एनपीईए र एमच्यामले बजार अनुसन्धान र तथ्याङ्क आदानप्रदान गर्दै नयाँ व्यापार र लगानीका अवसरहरूको पहिचान गर्नेछन् । यसका साथै, उनीहरूले प्रमुख सरोकारवाला र निर्णयकर्तासँग सम्बन्ध विस्तार गर्दै विभिन्न मञ्चहरूमा पहुँच उपलब्ध गराउन एकअर्कालाई सहयोग पर्याउनेछन् । नेपाललाई विश्वव्यापी लगानी केन्द्रका रूपमा स्थापित गर्न यो सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ । त्यसका लागि एनपीईए र एमच्यामले आ–आफ्ना स्रोत र विशेषज्ञता परिचालन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायको क्षेत्रमा नेपाललाई स्थापित गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।