काठमाडौं । ललितपुरका उद्योगी व्यवसायीहरूले लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ व्यवसाय हटाउन ललितपुर महानगरपालिकासंग माग गरेका छन् । ललितपुर उद्योग वाणिज्य संघले पछिल्लो समय ललितपुरका अव्यवस्थित फुटपाथ बढेको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।
वैधानिकरूपमा व्यवसाय सञ्चालन गर्नेलाई असर पुगेकाले फुटपाथ पसललाई कानुनी दायरामा ल्याउन संघले माग गरेको छ । महानगरले चरणबद्धरूपमा फुटपाथ पसलहरूको व्यवस्थापन गरिने आश्वासन दिए पनि काम नभएको संघका अध्यक्ष विश्वराज बज्राचार्यले बताए । फुटपाथ बढ्दै जाँदा राज्यलाई राजस्व तथा कर बुझाउँदै आएका व्यवसायीहरू हतोत्साहित बन्न थालेको उनको भनाइ छ । ‘ललितपुरको लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ व्यवसाय मौलाएको हुँदा सटर भाडा तिरेर सञ्चालनमा आएका व्यवसायीहरू मर्कामा परेको छ’, उनले भने । फुटपाथ व्यापारलाई नहटाए निजी क्षेत्रका व्यवसायीहरू आफ्ना उद्योग व्यवसायका सटरहरू बन्द गरेर आन्दोलन उत्रिने उनले चेतावनी दिए ।
यस्तै, संघले पार्किङको व्यवस्थापन गर्न पनि महानगरलाई आग्रह गरेको छ । केही ठाउँमा जथाभावी पार्किङ हुने तथा पार्किङ आवश्यक ठाउँमा निषेध गरिएको भन्दै संघले महानगरको ध्यानाकर्षण गराएको छ । महानगरको व्यापारिक केन्द्रका रूपमा रहेको लगनखेल–मंगलबार, ग्वार्को–पुल्चोक रूटमा पार्किङ निषेध गरिएकोप्रति संघले आपत्ति जनाएको छ । सो रुटमा महानगरले पार्किङको वैकल्पिक व्यवस्था समेत नगरी निषेध गर्ने निर्णय गरेको भन्दै संघले निर्णय सच्याउन माग गरेको छ । संघका अनुसार महानगरले २०७४ सालमा नै पार्किङ व्यवस्थापनका लागि प्रविधिसहितको स्मार्ट पार्किङ सेन्टर बनाउने घोषणा गरेको थियो । सो घोषणाअनुसार हालसम्म काम भएको छैन । पार्किङ गर्ने वैकल्पिक व्यवस्थाको छलफल समेत नगरी महानगरले लगनखेल–मंगलबार, ग्वार्को– पुल्चोक रूटमा एकतर्फी निर्णय गरी पार्किङ निषेध गरेको संघको आरोप छ । यसले सर्वसाधारण, व्यापार व्यवसायीलाई मात्र नभई सम्बन्धित घरधनीहरूलाई समेत प्रत्यक्ष असर पुगेकाले उल्लेख गर्दै संघले महानगरपालिकालाई संवेदनशील हुन आग्रह गरेको छ ।
पाटन क्षेत्र भित्रका विभिन्न स्थानहरूमा स्थानीय समुदाय, टोल संघसंस्थासँगको सहकार्य र सम्बन्धित निकायहरूको समन्वयमा वैकल्पिक पार्किङको व्यवस्था गर्न सकिने संघले सुझाव दिएको छ । सो सम्बन्धमा ललितपुर महानगरपालिकाको निःशुल्क र सःशुल्क पार्किङ व्यवस्थापनबारे स्पष्ट धारणा तथा नीतिगत परिमार्जन आवश्यक रहेको संघको भनाइ छ । यस सम्बन्धमा संघसँग आबद्ध ३० वटा वस्तुगत संघ समेतको ऐक्यबद्धतामा हालै महानगर प्रमुख चिरीबाबु महर्जनलाई नौ बुँदे सुझाव समेत पेश गरिएको संघका अध्यक्ष बज्राचार्यले जानकारी दिए । पार्किङ व्यवस्थापनसँगै समस्याका रूपमा रहेका फुटपाथ व्यवसायलाई चाँडै कानुनी दायरामा ल्याई विशेषतः व्यवस्थित हाटबजार तथा रात्रीकालीन बजार सञ्चालनका नीति अपनाउन संघले महानगरसँग माग गरेको छ ।