दमास्कस । सिरियाका राष्ट्रपति बसर अल असद देश छोडेर भागेका छन् । सेनाले असदले देश छोडेको पुष्टि गर्दै राष्ट्रपतिको शक्ति समाप्त भएको बताएको छ । सिरियामा विद्रोही समूह र सेनाबीच विगत ११ दिनदेखि भिडन्त चलिरहेको थियो ।
विद्रोही लडाकुहरूले आइतबार राजधानी दमास्कस कब्जा गरेका छन् । असदले देश छोडेपछि सिरियाली प्रधानमन्त्रीले विद्रोहीलाई सत्ता हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले एक भिडियोमा आफू देशमै बस्ने र सिरियाली जनताले जसलाई चुन्छन्, त्यहीसँग काम गर्ने बताएका छन् ।
समाचार माध्यमहरुका अनुसार पछिल्लो एक सातामा विद्रोहीले राजधानी दमास्कसबाहेक सिरियाका चार प्रमुख सहर कब्जामा लिएका छन् । जसमा अलेप्पो, हामा, होम्स र दारा पर्छन् ।
विद्रोही लडाकुहरूले डिसेम्बर ६ मा कब्जा गरेको दारा सहरबाट राजधानी दमास्कस प्रवेश गरेका थिए । दारा त्यही सहर हो जहाँ सन् २०११ मा राष्ट्रपति बसर अल–असदविरुद्ध विद्रोह सुरु भयो र देशभर युद्ध भयो । दारादेखि राजधानी दमास्कसको दूरी करिब एक सय किलोमिटर छ । स्थानीय विद्रोहीले त्यहाँ कब्जा गरेका छन् ।