काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पटक–पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।
प्राधिकरणका अध्यक्ष सिलवालले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपी लिँदा २२ कात्तिक २०१६ साल भनी जन्ममिति उल्लेख गरेका थिए । तर, निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन, २०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्ममिति उल्लेख थियो । त्यही विवरणलाई आधार मानेर उनले १५ साउन २०७३ मा अवकाश लिएका थिए ।
सिलवाल तत्कालीन बीमा समितिको अध्यक्षमा नियुक्त भएका थिए । सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ अनुसार राजनीतिक नियुक्ति र मनोनयनमा सार्वजनिक पदमा पुगेको व्यक्ति ६५ वर्ष पूरा भएपछि अवकाश हुनुपर्ने व्यवस्था थियो । तर, १५ साउन २०८० मा अवकाश पाउनुपर्ने सिलवालले आफ्नो जन्ममितिबारे फरक दाबी गर्दै २४ कात्तिक २०१८ मा आफ्नो जन्ममिति रहेको दाबी गरे । सोपश्चात् आयोगले ६५ वर्षपछि समेत पदमा वहाल रहेको भन्दै अख्तियारले प्रश्न उठाएको हो ।
उमेर ढाँटेर पदमा बासेको र त्यसबाट व्यक्तिगत लाभ लिएको भनी अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले १५ साउन २०८० पछि उनले लिएको पारिश्रमिकबापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानी मुद्दा दायर गरेको जनाएको छ ।