काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ । कलेजले प्रादेशिक छात्रवृत्ति परीक्षामा सर्वोत्कृष्ट भएका पाँच वटा प्रदेशका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।
प्रादेशिक छात्रवृत्ति पाउनेहरूमा मधेश प्रदेशबाट अभिषेक कुमार यादव, बागमती प्रदेशबाट सुवास गिरी, गण्डकी प्रदेशबाट पार्वती पनेरु, लुम्बिनी प्रदेशबाट विजयकुमार यादव र सुदूरपश्चिम प्रदेशबाट सरोज देउवा रहेका छन् । कोशी प्रदेश र कर्णाली प्रदेशबाट भने प्रादेशिक छात्रवृत्ति छनौट बाँकी रहेको जनाइएको छ । नयाँ शैक्षिक सत्रको भर्ना अभियान अझै केही दिन बाँकी रहेकाले दुई प्रदेशको प्रादेशिक छात्रवृत्ति वितरण गर्न बाँकी रहेको कलेजले जानकारी दिएको छ । छात्रवृत्ति पाउने विद्यार्थीहरूले क्रमशः इलेक्ट्रिक्स एन्ड इलेक्ट्रोनिक्स, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, विडिएच, सिभिल एन्ड रुलर इन्जिनियरिङ विषयमा अध्ययन गर्नेछन् ।