चन्द्रपर (रौतहट) । बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गर्दा रौतहटमा सो दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको जानकारी दिए । जिप अनियन्त्रित भई रुखमा ठोकिएको थियो । दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले बताए । मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो ।
प्रहरीले उपचारका लागी दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई पर्साको वीरगञ्ज पठाइएको जनाएको छ ।