काठमाडौं । पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीको सरकारी वकिल कार्यालय पर्सामा बयान लिन सुरु गरिएको छ ।
लामिछानेलाई सोमबार काठमाडौं हुँदै विमानमार्फत बाराको सिमरा र त्यहाँबाट गाडीमा पर्सा लगिएको थियो भने जोशीलाई सडकमार्ग हुँदै पर्सा पुर्याइएको थियो । मंगलबार बिहानैदेखि उनीहरूसँग बयान लिइँदै छ । लामिछाने अझै जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।
लामिछानेसहित १४ जनाविरुद्ध यही मंसिर १९ गते सानोपाइला सहकारीको रकम अपचलन आरोपमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । करिब ९२ करोड रुपैयाँ सानोपाइला सहकारीको अपचलन भएको खुलेको छ ।