काठमाडौं । सूर्य नेपालले नयाँ ब्रान्ड ‘सूर्य फ्युजन’लाई बजारीकरण गर्न गैरकानुनी तरिका अपनाएपछि आन्तरिक राजस्व विभागले अनुसन्धान गरी काठमाडौं उपत्यकाका कार्यालयमार्फत डिलरहरूमा छापा मारेर ल्यापटप तथा कागजपत्र नियन्त्रणमा लिएको छ ।
कम्पनीले अन्तःशुल्क स्टिकर नटाँसी आफ्नो नयाँ ब्रान्ड ‘सूर्य फ्युजन’को प्रचार गर्न बजारमा पठाएको विषयमा समाचार प्रकाशित बाहिर आएको थियो । उपहार स्वरूप ‘फ्री फ्लो’ नाम भएको रंगिन बट्टामा पाँच खिल्ली चुरोट पसल–पसलमा वितरण गर्दै आएको हुँदा विभागले कानुनविपरीतको काम भन्दै यस विषयमा अनुसन्धान जारी राखेको छ ।
विभागले राजस्व कार्यालयहरूमार्फत् उपत्यकाभरीका डिलरमा छापा मारेको छ । पाँच खिल्लीको ‘फ्री फ्लो’ नाम भएको रंगिन बट्टामा न त सुर्तीजन्य पदार्थ ऐन, २०६८ अनुसार कुनै सन्देश छ, न यसमा अन्तःशुल्क स्टिकर नै छ ।
विभाग उच्च स्रोतका अनुसार, “प्रारम्भिक रूपमा कम्पनीले ऐन विपरीतका कार्य गरेको हामीले केही आधारहरू प्राप्त गरेका छौं । त्यसकै आधारमा हामी अनुसन्धान गरिरहेका छौं ।”