काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी एक वर्षमा छ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी एक वर्षअघिको तुलनामा छ अर्ब २४ करोड ८० लाख रुपैयाँ बढेको छ । कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार खर्ब ३८ अर्ब ४३ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत वर्ष कात्तिक महिनामा चार खर्ब ३२ अर्ब १९ करोड रुपैयाँ चुक्ता पुँजी थियो ।
कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूको मात्र चुक्ता पुँजी तीन खर्ब ८० अर्ब ७६ करोड ५० लाख रुपैयाँ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा तीन अर्ब ९९ करोड ९० लाख रुपैयाँले बढी हो । गत वर्ष कात्तिकमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ७६ अर्ब ७६ करोड ६० लाख रुपैयाँ थियो ।
विकास बैंकहरूको चुक्ता पुँजी एक वर्षमा दुई अर्ब २१ करोड ३० लाख रुपैयाँ बढेर ४२ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कात्तिकमा विकास बैंकहरूको यस्तो चुक्ता पुँजी ४० अर्ब २० करोड ७० लाख रुपैयाँ थियो । फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी एक वर्षमा तीन करोड ६० लाख रुपैयाँ बढेर १५ अर्ब २५ करोड २० लाख रुपैयाँ पुगेको छ । गत वर्ष फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १५ अर्ब २१ करोड ६० लाख रुपैयाँ थियो ।
कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या छ हजार चार सय ९१ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ६५, विकास बैंकहरूको एक हजार एक सय ३७ र फाइनान्स कम्पनीहरूको दुई सय ८९ छ । गत वर्ष कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको शाखा संख्या छ हजार चार सय २९ थियो । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार आठ, विकास बैंकहरूको एक हजार एक सय ३३ र फाइनान्स कम्पनीहरूको दुई सय ८८ थियो ।
बैंक तथा वित्तीय संस्थाको एटीएम काउन्टरको संख्या यस वर्ष कात्तिक मसान्तसम्म पाँच हजार दुई सय २४ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको चार हजार आठ सय ३४, विकास बैंकहरूको तीन सय ४९ र फाइनान्स कम्पनीहरूको ४१ वटा छ । गत वर्ष कात्तिकसम्म कुल एटीएम काउन्टरको संख्या पाँच हजार ५९ वटा थियो । जसमध्ये वाणिज्य बैंकहरूको चार हजार छ सय ६७, विकास बैंकहरूको तीन सय ४८ र फाइनान्स कम्पनीहरूको ४४ थियो ।