काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सुरु भएको छ । रोयल नेपाल गल्फ क्लबमा सुरू भएको प्रतियोगिता पहिलो दिन मंगलबार जयराम श्रेष्ठ ४–अन्डर ६४ सहित शीर्षस्थानमा रहन सफल भएका छन् । उनले विष्णुप्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् । प्रतियोगितामा विष्णु प्रसाद शर्मा र निरज तामाङले ३–अन्डर ६५ सहित संयुक्तरूपमा दोस्रो स्थानमा पूरा गरे । नेपाल नम्बर एकएमेच्योर गल्फर सदभाव आचार्य २–अन्डर ६६ सहित चौथो स्थानमा रहे भने इभन–पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीप कुमारलामाले पाँचौँ स्थान बाँडे । रमेश अधिकारी र दिनेश प्रजापतिले १–ओभर ६९ को स्कोर निकाले । उनीहरू सातौँ स्थान रहेका छन् ।
यसैगरी २–ओभर ७० को स्कोरमा छ गल्फर रामे मगर, कृष्णमानराजबाहक, रवि खड्का, वसन्तराज गुरूङ तथा एमेच्योरद्वय ज्ञानबहादुर ढेङ्गा र राहुल विके पहिलो दिन संयुक्तरूपमा नवौं स्थानमा रहे । ७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीको सहभागिता रहेको छ । कुल सात लाख ३५ हजार रुपैयाँ नगद पुरस्कार राशीको लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले उपाधिसँगै एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् । साथै, कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । ३६ होलको समाप्तिमा कट लागू हुनेछ ।