काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे)बीच भएको सम्झौताअनुसार विश्वका करिब ४८ देशसँग आबद्धता रहेको अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको छ । सम्झौताअनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्युआर लिएका यस बैंकका मर्चेन्टहरूले अब आफ्नो व्यापारलाई अझ वृद्धि गर्न सक्ने भएका छन् ।
नेपाल पे क्युआर हालसम्म नलिएका ग्राहकहरूले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुविधा प्राप्त गर्न सक्नेछन् । खासगरी चीन, थाइल्यान्ड, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा इटलीलगायत अलिपे प्लस नेटवर्कमा आबद्ध देशहरूबाट आएका पर्यटकहरूले आफ्नो देशको विभिन्न वालेटमार्फत रकम भुक्तानी गर्न सक्नेछन् । यस्तो कारोबारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोबारमा वृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।
हाल बैंकको सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १२ वटा एटीएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा विनाइन्टरनेट चल्ने युुएसएसडी मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।