काठमाडौं, असार २९
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जरिवाना शुल्कमा शत प्रतिशत छुट दिने भएको छ । कम्पनीले असार मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानी विलम्ब भएबापत लाग्ने जरिवाना शुल्कमा शत प्रतिशत छुट दिने घोषणा गरेको हो । कम्पनीका अनुसार कोरोना भाइरस रोकथामका निमित्त लागू भएको लकडाउनको कारण नेपालीमा सृजना भएको अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै उक्त छुटको घोषणा गरिएको हो ।
कम्पनीका अनुसार सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि लकडाउन घोषणा गरेकोमा सोही अवधि देखिएको असार ३१ गतेसम्मको विलम्ब शुल्कमा छुट दिने निर्णय गरिएको हो । कम्पनीले यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ–आफ्नो बीमालेख सक्रिय गराई अवसरको फाइदा लिन आफूसँग आबद्ध सबै बीमितहरूलाई आग्रह गरेको छ ।
हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा छ करोड ५८ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड २२ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।