काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उनले संसद्को आगामी अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताए ।
उनले विधेयकमा औषधिका विभिन्न पाटोहरू समावेश गरिएको जानकारी दिए । यस्तै, उनले हाल नेपालमा एक सय ७३ औषधि उद्योगले औषधि उत्पादन गरिरहेको बताए । ‘ती उद्योगबाट करिब ५० प्रतिशतको हाराहारीमा आवश्यकताअनुसारको औषधि उत्पादन हुन्छ । कतिपय औषधि, खोपलगायत नेपालमा उत्पादन हुन सक्दैनन् । औषधिमा आत्मनिर्भर हुने कुरा जटिल नै छ’, उनले भने । स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने, कानुनी प्रबन्ध त्यसअनुसार निर्माण गर्ने र स्वदेशमै उत्पादित औषधि खरिद गर्ने, राज्यले निःशुल्क गरेका औषधि स्वदेशी उत्पादन हुनुपर्नेलगायत विषय छलफल गरिरहेको मन्त्री पौडेलले बताए ।
मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालमै उत्पादन हुने औषधिको आयातमा विचार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘औषधिको खरिद प्रक्रियाले औषधिको उपलब्धतामा समस्या देखापरेको छ । खरिद ऐनलाई पुनःविचार गर्न आवश्यक छ ।’ छलफलमा सांसद देवेन्द्र पौडेलले बीमा सरल र सहज नभएको बताए । उनले कुनै नागरिकले भनेको बेला उपचार पाउनुपर्ने उल्लेख गरे । सांसद डा तोसिमा कार्कीले नेपालमा उत्पादन भएको औषधिलाई प्रवर्द्धन गर्नका लागि सरकारले कस्तो रणनीति ल्याउँदैछ भनेर प्रश्न गरिन् । त्यसैगरी सांसद सुमना श्रेष्ठले अस्पतालमा उपचार गर्नका लागि मिटरब्याजमा नागरिकले पैसा लिनुपरेको बताउँदै स्वास्थ्य उपचार सेवा सर्वसुलभ हुनुपर्नेमा जोड दिइन् । सांसदहरूले प्रस्तुत विषयमा थप सरोकारवाला र विज्ञ बोलाएर छलफलको आवश्यकता रहेको बताएका थिए ।