काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अहिले निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार न्यून छ । विगतमा प्रवाह भएको कर्जाबाट समेत नियमित किस्ता उठाउन नसक्दा बैंकहरूको निष्क्रिय कर्जा बढ्दै गएको छ । तर, पनि राष्ट्रियस्तरका विकास बैंकहरूले आफ्नो खुद मुनाफा बढाउन सफल भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका राष्ट्रियस्तरका आठवटा विकास बैंकहरूले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म दुई अर्ब तीन करोड ११ लख रुपैयाँ नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ४३ प्रतिशत अर्थात् ४८ करोड ५७ लाख रुपैयाँ बढी हो । गत वर्ष कात्तिकसम्म विकास बैंकहरूले एक अर्ब ५४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । चार महिनामा मुक्तिनाथले ४२ करोड २४ लाख ९० हजार रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा ३१ करोड ६० लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो । मुक्तिनाथपछि गरिमाले धेरै नाफा कमाएको छ । गरिमा विकास बैंकले चार महिनामा ३६ करोड ८४ लाख ३० हजार रुपैयाँ कमाएको छ । गत वर्ष कात्तिकसम्म गरिमाले २४ करोड चार लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि पछिल्लो अवधिमा ३५ करोड ४३ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा शाइनको यस्तो नाफा २५ करोड पाँच लाख २० हजार रुपैयाँ थियो । ज्योति विकास बैंकले भने चालू आवको कात्तिक मसान्तसम्ममा कुल ६६ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा कम हो । गत आवको सोही अवधिमा ज्योति विकास बैंकले ११ करोड २० लाख ३० हजार रुपैयाँ कमाएको थियो ।
कामना सेवा विकास बैंकले २० करोड ४६ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन गत वर्ष कात्तिकसम्म कामनाले १७ करोड १० लाख ७० हजार रुपैयाँ कमाएको थियो । महालक्ष्मी विकास बैंकले पनि चालू आवको कात्तिक मसान्तसम्ममा २० करोड १६ लाख रुपैैयाँ खुद मुनाफा कमाएको छ । गत वर्ष महालक्ष्मीको नाफा १७ करोड १५ लाख ९० हजार रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साँग्रिला डेभलपमेन्ट बैंकले भने चालू आवको कात्तिक मसान्तसम्ममा १३ करोड ६८ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा साँग्रिलाको यस्तो नाफा १० करोड २६ लाख ९० हजार रुपैयाँ थियो । लुम्बिनी विकास बैंकले पनि चालू आवको कात्तिक मसान्तसम्ममा २९ करोड ३७ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा लुम्बिनीको यस्तो नाफा १८ करोड १० लाख १० हजार रुपैयाँ थियो ।