काठमाडौं । एक जना सरकारी कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयभित्रै पसेर अनुसन्धान अधिकृतलाई एक लाख रुपैयाँ घुस दिने प्रयास गरेपछि पक्राउ परेका छन् ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुबप्रसाद सापकोटा अख्तियारका अनुसन्धान अधिकृतलाई घुस रकम दिन खोज्दा पक्राउ परेका छन् । तर, उनले अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको प्रशासकीय अधिकृत भएको बेला गरेको कामको बदमासी रोक्नका लागि घुसबापत रकम दिन लाग्दा पक्राउ परेका हुन् ।
अछामको मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको बारेमा अख्तियारको कञ्चनपुर कार्यालयले छानबिन गरिरहेको थियो । सोही छानबिनको बारेमा ती प्रशासकीय अधिकृत सापकोटाले अनुसन्धानको विषयसँग सम्बन्धित कागजात बुझाउने बहानामा रकम दिने प्रयास गरेका थिए ।
अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम दिँदा उनलाई पक्राउ गरिएको हो । कागजात दिँदा अनुसन्धान अधिकृतलाई सापकोटाले एक लाख रुपैयाँ रहेको खाम दिने प्रयास गरेका थिए । अख्तियारको अनुसन्धान अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतले कागजातसहितको खाम दिँदा आफैँले खोलेर दिन भनेका थिए । कागजात भएको हरियो रङ्गको झोलाभित्र पहेँलो खाममा ३१ थान कागजात र पहेँलो रङ्गको खर्को खामभित्र एक हजार दरको नेपाली रोटको ९६ थान र पाँच सय रुपैयाँको आठ थान गरी एक लाख लाख रुपैयाँको बिटो भएको खाम थियो । उक्त खाममा केको पैसा भनी सोध्दा प्रमुख प्रशासकीय अधिकृतले मुद्दा मिलाइदिन तपाईँलाई स्वेच्छिकरूपमा ल्याएको हो भनेका थिए । त्यसपछि अख्तियारले उनलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।