काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औँ वार्षिक साधारणसभा तथा सातौँ महासभा (निर्वाचन)ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्कीले एक सय मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । कार्की यसअघि नाफिजको उपाध्यक्ष थिइन् ।
नाफिज कार्य समिति १३ सदस्यीय हुनेछ । त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरी १० जना कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । खतिवडाले १०४ र थापाले ९३ मत प्राप्त गरेका थिए । उनीहरूको प्रतिस्पर्धी परमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत प्राप्त गरे ।
यसैगरी महासचिवमा निकेश खत्रीले एक सय १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नवीन ढुंगानाले ६६ मत प्राप्त गरेका थिए । सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् । उनले एक सय २६ भोट ल्याउँदा उनका प्रतिस्पर्धी चेतनारायण पाण्डले भने ५७ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले एक सय दुई मत ल्याउँदा उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन) ले ८३ मत ल्याएका थिए ।
यस्तै, सदस्यमा अनिस मिजारले एक सय २०, अनुप आचार्यले एक सय १८, चित्रराज भण्डारीले एक सय १६ र शुक्र गिरीले एक सय सात मत ल्याएर विजयी भएका छन् । अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत ल्याएका थिए । नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रूपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनित गर्नेछ ।