काठमाडौं । देशभित्र भएको वैदेशिक लगानीको अवस्था हेर्दा हतोत्साहित नै भइहाल्नुपर्ने अवस्था छैन । हालसम्म जति लगानी भएको छ, त्यसमा अझ वृद्धि गर्न सकिए त्यसले कतिपय वस्तुमा आत्मनिर्भरता बढाउँछ भने रोजगारीको क्षेत्र पनि विस्तार हुँदै जानेछ । हालसम्म भएको यस्तो वैदेशिक लगानीका प्रतिबद्धताबाट करिब तीन लाख दुई लाख ९२ हजार नौ सय एक संख्यालाई रोजगारीको सुनिश्चितता भएको उद्योग विभागको रेकर्डमा अंकित छ । हालसम्म ९५ मुलुकबाट चार खर्बभन्दा बढी लगानी प्रतिबद्धता आइसकेका छन् । वैदेशिक लगानीको अंक आफ्नो ठाउँमा छन् । यसमा सबैभन्दा महत्वको पक्ष हो संसारभरका देशबाट नेपालमा लगानी गर्न प्रतिबद्धताहरू जनाउन थालिएका छन् । उल्लेख भएको यो लगानी प्रतिबद्धता साना खालका हुन् । ठूलाठूला लगानीहरू लगानी बोर्डमार्फत आउँछन् । ठूला परियोजना भनेका नेपालका लागि जलविद्युत् आयोजना नै हुन जसमा खर्ब एउटै परियोजनामा खर्बभन्दामाथि लगानी हुन्छ । यहाँ उल्लेख भएका परियोजना भने करोडदेखि नै सुरु हुन्छ । त्यसबाट जोडिँदै चार खर्बको लगानी प्रतिबद्धता आउनुभनेको उपलब्धिमूलक नै हो ।
यो लगानीका सन्दर्भमा यसको अर्को उल्लेख्य पक्ष भनेको धेरथोर जति होस् बढीभन्दा बढी देशबाट नेपालमा लगानी गर्न आउनु । निश्चय नै चीन र भारतजस्ता छिमेकी देशबाट भएका लगानी धेरै छन् । यसो हुनु पनि राम्रो हो । चीन दोस्रो ठूलो अर्थतन्त्र भएको देश मानिन्छ भने भारत छैठौँ उदीयमान देश हो । त्यहाँका लगानीकर्ताले नेपाल छान्दा अन्यत्रका लागि उदाहरण बन्न सक्छ । अहिलेसम्म सय देश पुगेको अवस्था पर्याप्त नहोला तर राम्रो हो । उद्योग विभागका अनुसार लगानीका लागि सबैभन्दा बढी प्रतिबद्धता चीन, भारत, हङकङ, अमेरिका, दक्षिण कोरिया, ब्रिटिस भर्जिन आइल्यान्ड, बेलायत, सिंगापुर आदिबाट आएका छन् । जस्तो, चीन एक खर्ब ८७ अर्ब, भारत एक खर्ब एक अर्ब नौ करोड, हङकङ २९ अर्ब ४४ करोड, अमेरिकाबाट १५ अर्ब ६२ करोड, दक्षिण कोरिया १२ अर्ब ८१ करोड, ब्रिटिस भर्जिन आइल्यान्ड ११ अर्ब छ करोड, बेलायत आठ अर्ब दुई करोड, सिंगापुर आठ अर्ब ४८ करोड, स्पेन छ अर्ब ९७ करोड, क्यानडा तीन अर्ब ६२ करोड, मौरिसस तीन अर्ब ४३ करोड, जापान तीन अर्ब ४१ करोड, संयुक्त अरब इमिरेटस (यूएई) तीन अर्ब ८१ करोड,, स्वीट्जरल्यान्ड दुई अर्ब ९७ करोड, जर्मनीबाट एक अर्ब ४४ करोड, फ्रान्सबाट एक अर्ब आठ करोड रूपैयाँ आदि लगानीका प्रतिबद्धता छन् ।
माथिको विवरणले बुझाउने कुरा हो कहलिएका औद्योगिक राष्ट्रहरूबाट पनि नेपालमा लगानी आएको छ । कसको कति उद्योग र कति रोजगारीका कुरा छन् भन्नेले पनि अर्थ राख्छ । यसमा पनि छिमेकी देश नै सबैभन्दा माथि देखिन्छन् । जस्तो, चीन ४५ वटा उद्योग र पाँच हजार दुई सय ७७ जना, भारत आठ सय २० वटा उद्योग र ७४ हजार चार सय ११ जना, हङकङबाट ४५ वटा उद्योग र पाँच हजार दुई सय ७७ जना, अमेरिका चार सय ३८ वटा उद्योग र १९ हजार छ सय ८७ जना, दक्षिण कोरिया तीन सय ६२ वटा र १२ हजार ९४ जना । यो संख्या जोडिएर नै कुल रोजगारीको संख्या बनेको हो ।
अहिलेको आवश्यकता हो यो प्रतिबद्धतालाई पूर्णरूपमा कार्यान्वयन गराएर यी देशमार्फत वा यी लगानीकर्तामार्फत अझ बढी संख्यामा लगानीकर्ता आउने बातावरण बनाउनु । त्यसो भयो भने यो अवसरलाई उपलब्धिमा परिणत गर्न सकिन्छ । राज्यले ध्यान दिनुपर्नेचाहिँ यी लगानीकर्ताबाट कुनै गुनासो नओस् वा आउन नपाओस् ।