दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी, पानीघट्टा क्षेत्रमा दिनहुँ साँझपख चितुवा देखिन थालेपछि यहाँका स्थानीयवासी त्रसित भएका छन् ।
स्थानीयलाई चितुवाको आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए । साथै उनले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गरेका छन् । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो ।
स्थानीय प्रशन्न अधिकारीका अनुसार गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएकोे उनले बताए । यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ ।