काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताबमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवाअन्तर्गत नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न सहकार्य गर्ने उद्देश्य रहेको छ ।
कुमारी क्यापिटल लिमिटेड, जसले नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ र भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी हो र यस कम्पनी आरबीआईद्वारा इजाजतपत्र प्राप्त कम्पनी हो, जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरूमा लगानी गर्ने योजना बनाएको छ । साथै, कम्पनीले सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयरहरू, हस्पिटल, फर्मास्युटिकल्स लगायत जलविद्युत् परियोजनाहरूमा समेत लगानी गर्ने उद्देश्य राखेको छ । यी लगानीहरू नेपालको ऊर्जा, वित्तीय र सामाजिक क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन केन्द्रित हुनेछन् । दुवै कम्पनीबीच भएको यो सम्झौताअन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीहरूलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपाल वैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रूपमा काम गर्नेछ । यस साझेदारीले नेपालमा वैदेशिक लगानीको प्रवाहलाई तीव्र बनाउन र दिगो आर्थिक विकासलाई टेवा पुर्याउने विश्वास लिइएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर समारोहमा, कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस सहकार्यलाई नेपालका क्यापिटल मार्केट क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा रहेको उल्लेख गर्नुहुँदै, यसले नेपालको आर्थिक विकासमा नयाँ आयाम थप्ने र वैदेशिक लगानीलाई सहज वातावरण निर्माण गर्न योगदान दिने विचार व्यक्त गरे । त्यस्तैगरी, ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडका तर्फबाट रितेश शले नेपालजस्तो सम्भावनायुक्त बजारमा लगानी गर्न आफूहरू निकै उत्साहित रहेको भनाइ राख्दै कुमारी क्यापिटलजस्तो स्थापित स्थानीय साझेदारले लगानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेमा विश्वास व्यक्त गरे । सम्झौताअनुसार कुमारी क्यापिटलले नेपालमा लगानी अवसरहरूको पहिचान, कानुनी र वित्तीय परामर्श, परियोजनाको मूल्याङ्कन र ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडको लगानी प्रक्रियाको व्यवस्थापनमा सहयोग पुर्याउनेछ ।