काठमाडौं । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधानसम्बन्धी सम्मेलन सुरु भएको छ । बिहीबार ललितपुरको गोदावरीमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्मेलनको उद्घाटन गरिएको हो ।
आयोजक नेपाल इन्टरनेसनल एडीआर सेन्टरका अनुसार विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषयविज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।
‘विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडीआरको भूमिका’ भन्ने नाराका साथ आजबाट सुरु भएको सम्मेलन मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपालसहित जापान, स्वीजरल्यान्ड, अस्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, युके, न्युजिल्यान्ड, चीन र यूएसए गरी विश्वका १७ देशका वक्ताहरूको सहभागिता रहको एडीआरका महासचिव वरिष्ठ अधिवक्ता मातृकाप्रसाद निरौलाले बताए ।
निरौलाका अनुसार कार्यक्रम अवधिभर करारसम्बन्धी विवाद, विकास निर्माणसम्बन्धी, लगानीसम्बन्धी विवाद, संयुक्त राष्ट्र संघका मोडल कानुनसम्बन्धी व्यवस्था र मध्यस्थता एवम् मेलमिलाप सम्बन्धमा न्यायपालिकाको भूमिकालगायतका विषयमा छलफल हुने छन् ।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, एनआईएसीका अध्यक्ष डा. मुक्तिराम रिजाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका दीपक श्रेष्ठ उपाध्यक्ष, एफएनसीसीआईका अध्यक्ष चन्द्र प्रसाद ढकाल, सर्वोच्च अदालत बार एसोसिएसन नेपालका अध्यक्ष हरिशंकर निरौला, भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश न्यायाधीश रविन्द्र भट, सर्वोच्च अदालत, नेपालका न्यायाधीश कुमार रेग्मीलगायतको उपस्थिति भएको छ ।