काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका छन् ।
ज्यापु संस्कृति विकास कोषद्वारा आइतबार वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बदनाम गर्ने कोशिस भएकाले ठूलाठूला दलको सहकार्यमा सरकार बनेको राससलाई बताए । यो सरकार केबल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उनको भनाइ थियो ।
“गुठीको संरक्षण गर्न कानुन बनाउनु पर्छ भन्दा म विरुद्ध भ्रम फैलाइएर विरोध गरियो । प्रहार गरियो । भ्रष्टाचारमा उजुरी परेका माथि २०औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो । यस्ता हल्लाहरु नेपालमा भाँडभैलो मच्चाउने प्रयासका उपज हुन्”, प्रधानमन्त्री ओलीले भने, “नेपाल भाँड्नका लागि र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् तर हामी साम्प्रदायिक विद्षका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहान्छौँ । यो जातलाई खेद, अर्को जातलाई खेद भन्दैनौँ । बैंकको ऋण नतिर भन्दैनौँ । नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौैँ । नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौँ ।”
प्रधानमन्त्री ओलीले अहिले आफूहरुले जे दुःख भोगेका छौँ त्यस्ता दुःखः हाम्रा छोरा नातिहरुले भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताए । सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य र सुसंस्कृत हुँदै आत्मीयता र भ्रातृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि आग्रह गरे ।
‘नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ’
नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको संस्कृति भएको उल्लेख गर्दै उनले ज्यापु संस्कृतिलाई अगाडि बढाउन सफलता मिलोस् भनी कामना गरे । राज्यकोषमा धेरै रकम नभए पनि ज्यापु दिवस मनाउन नेपाल सरकार, मन्त्रिपरिषद्बाट १० लाख सहयोगको निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्ने विश्वास दिलाए ।
उनले नेवारी संस्कृति र परम्पराले विश्वमा बेग्लै पहिचान दिएर राष्ट्रिय गौरव बढाउन योगदान दिएको बताए । आफ्नो मर्यादित संस्कृति र परम्परालाई निरन्तरता दिएकामा धन्यवाद दिँदै धार्मिक र सांस्कृतिक सम्पदालाई प्रोत्साहन गर्न सरकार तत्पर रहेको बताए
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न पुरस्कार तथा सम्मान वितरणका साथै वार्षिक जात्रासम्बन्धी डिजिटल सामग्री र पुस्तक विमोचन गरे ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री ओलीसमक्ष ज्यापु दिवसका लागि यही मङ्सिर १२ गते बालुवाटारमा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको थियो ।