काठमाडौं । नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा एक सय २४ खर्ब ४४ अर्ब रुपैयाँबराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन बोलकबोलमार्फत ११ खर्ब १२ अर्ब रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत एक सय १३ खर्ब ३२ अर्ब रुपैयाँ गरी कुल एक सय २४ खर्ब ४४ अर्ब रुपैैयाँ तरलता प्रशोचन गरेको छ ।
बजारमा पैसा बढी हुँदा त्यसको असरले अर्थतन्त्रमा समस्या नआओस् भन्ने उद्देश्यले राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकले विभिन्न वित्तीय औजारको प्रयोग गरी बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए निक्षेप पठाएर प्रवाह बढाउने काम गर्छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निक्षेप सङ्कलन गर्दै आएको छ । यसबाहेक रिभर्स रिपो, सोझै बिक्री, निक्षेप सङ्कलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरेर पनि बजारबाट तरलता प्रशोचन गर्न सक्छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार वित्तीय प्रणालीमा अहिले छ खर्ब ५५ अर्ब रुपैयाँ बढी लगानीयोग्य पैसा छ । बैंकहरुको निक्षेप सङ्कलन बढ्दै गएको छ भने कर्जा विस्तार लक्ष्यअनुसार छैन । कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७८ दशमलव ८० प्रतिशत छ । यस्तै अन्तरबैंक ब्याजदर तीन दशमलव शून्य चार प्रतिशत पुगेको छ ।