काठमाडौं । केही समयअघि मात्रै नेपाल पर्यटन बोर्ड (एनटीबी)ले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कमा जनाइएअनुसार सन् २०२४ को ११ महिनाभित्र नेपालमा जम्मा १० लाख ५५ हजार पाँच सय ३३ जना विदेशी पर्यटकहरूले भ्रमण गरेका छन् । सो तथ्याङ्कअनुसार सन् २०२४ को नोभेम्बर महिनामा नेपालमा एक लाख १४ हजार पाँच सय एक जना विदेशी पर्यटक भ्रमण गर्न आएका छन् । जबकि नेपाल सरकारको लक्ष्यचाहिँ सन् २०२४ मा कम्तीमा १३ लाख १५ हजारसम्म पुर्याउने भन्ने रहेको थियो । उता, आर्थिक वर्ष २०८०/०८१ मा कम्तीमा १६ लाख विदेशी पर्यटकको संख्या नेपाल भित्र्याउने लक्ष्य लिएको थियो । तर, सो लक्ष्य पूरा नहुने पक्काजस्तै भएको छ । त्यसका अनेक कारणहरू रहेका छन् । त्यस सम्बन्धमा अहिले नै केही नलेखौँ । तर, अहिलेसम्म (११ महिनामा) मासिकरूपमा कति विदेशी पर्यटक नेपाल भ्रमण गर्न आए ? भनी तल तथ्याङ्क प्रस्तुत गरिएको छ । यो वर्ष (सन् २०२४) को ११ महिनामा मासिकरूपमा विदेशी पर्यटकहरू कति आए त ? ११ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या तल उल्लेख गरिएको छ ।
जनवरी महिनामा ७९ हजार एक सय जना, फेब्रुअरी महिनामा ९४ हजार चार सय २६ जना, मार्चमा एक लाख २८ हजार एक सय ६७ जना, अप्रिल महिनामा एक लाख ११ हजार तीन सय ७६ जना, मे महिनामा ९० हजार एक सय ११ जना, जुन महिनामा ७६ हजार सात सय ३६ जना, जुलाई महिनामा ६४ हजार पाँच सय ९९ जना, अगस्ट महिनामा ७२ हजार सात सय १९ जना, सेप्टेम्बर महिनामा ९६ हजार तीन सय पाँच जना, अक्टोबर महिनामा एक लाख २४ हजार तीन सय ९३ जना, नोभेम्बर महिनामा एक लाख १४ हजार पाँच सय एक जना विदेशी पर्यटक आएका छन् । यसरी हेर्दाखेरि सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ जना विदेशी पर्यटकहरू मात्रै नेपालको भ्रमण गर्न आएको देखिन्छ ।
गएको पाँच वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्यालाई तथ्याङ्कमा हेर्दाखेरि गत ठूलो उतारचढाव आएको देखिन्छ । जस्तै, सन् २०२३ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या १० लाख १४ हजार आठ सय ७४ जना पुगेको थियो भने सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक मात्रै नेपाल भ्रमणमा आएका थिए । यो भनेको तथ्याङ्क हेर्दा सन् २०१९ मा भन्दा ८२ प्रतिशतले कम विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएको तथ्याङ्क रहेको थियो । त्यस्तै, सन् २०२१ मा केवल एक लाख ३१ हजार विदेशी पर्यटकहरू मात्रै नेपाल भ्रमण गर्न आएका थिए । तर, सन् २०२२ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको त्यो संख्यामा ठूलो पैमानामा वृद्धि भएर छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसअघि नेपाली पर्यटनको इतिहासमा सन् २०१९ मा सबैभन्दा धेरै विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । स्मरण रहोस्, सन् २०१९ मा ११ लाख ९७ हजार चानचुन विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए । हुन त नेपाल सरकारले धेरै ढिला गरेर (विसं २०६५ मा) समग्रमा नेपालको पर्यटन नीतिहरू कस्तो हुने भन्ने ? सम्बन्धमा बृहद् ढंगले अध्ययन गरेर नै होला, ‘नेपालको पर्यटन नीति–२०६५’ ल्याएको लगभग १६ वर्ष भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असाध्यै धेरै ढिला गरेर । अर्थात् विसं २०६५ मा ल्याएको सो पर्यटन नीतिअनुसार नेपाल सरकारले लगभग १६ वर्षको अवधिमा पर्यटनसम्बन्धी के–के काम ग¥यो, के–के उपलब्धिहरू हासिल ग¥यो ? भनी मिहीन ढंगले हेर्ने र केलाउने हो भने अझै पनि उल्लेख गर्न लायक त्यस्तो केही उपलब्धिहरू देखा नपर्ला ? हुन त ‘नेपालको पर्यटन नीति–२०६५’ को बुँदा नम्बर ६ को (क)मा उल्लेख गरिएको दीर्घकालीन दृष्टिकोणः अन्तर्गत ‘नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवम् मानव निर्मित सम्पदाहरूको संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रूपमा विकास गर्नु पर्यटन क्षेत्रको दीर्घकालीन दृष्टिकोण हुनेछ’ भनी उल्लेख गरिएको भने (ख) मा राखिएको लक्ष्यमा ‘राष्ट्रिय सम्पदाहरूलाई दिगो उपयोगको माध्यमबाट पर्यटकीय क्रियाकलाप प्रयोग गरी राष्ट्रिय आयमा पर्यटन क्षेत्रको उल्लेख्य मात्रामा वृद्धि गराई जनताको जीवनस्तरमा सुधार ल्याउनु पर्यटन क्षेत्रको लक्ष्य गरिएका लक्ष्यका हुनेछ’ भनिएको छ । यसरी हेर्दाखेरि ‘नेपालको पर्यटन नीति–२०६५’ को अनेकौँ बुँदा र नम्बरहरू अनि (क), (ख), (ग), (क) १, २,...(ख) १, २, ३,...(ग) १, २, ३, ४...आदिमा नेपालको पर्यटनसम्बन्धी अनेकौँ मिसन, भिजन, गोल आदिको वर्णन गरिएको छ । जेहोस्, यस सम्बन्धमा पछि छुट्टै लेखिने छ । पर्यटन नीतिहरू र सरकारी घोषणाको कुरो गर्दाखेरि आर्थिक वर्ष (२०८१/०८२) को बजेट भाषणमा तत्कालीन अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष (विसं ०८१–८२) मा १६ लाख विदेशी पर्यटक भित्र्याउने उल्लेख गर्नुभएको थियो । नेपाल सरकारको सो लक्ष्य अब पूरा होला त ? पूरा भए कसरी होला त ? शंकाको नजरले हेर्नुपर्ने हुन्छ ।