काठमाडौं, असार ३०
काठमाडौं महानगरपालिका ४ सीतापाइलास्थित कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट गाविस ८ घर भएका ४५ वर्षीय नातीकाजी सुवेदी र उनकै ४४ वर्षीया श्रीमती सानु सुवेदीको हत्या गरी फरार रहेका सोही मिलमा काम गर्ने सर्लाही पिपरिया गाविस १ गयरटोल ठेगाना भएका ३४ वर्षीय जेकी भन्ने जय किशोर साहलाई घटनाको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी उक्त मिलका सञ्चालक नातीकाजी र सानु सुबेदीको २०६३ पुस २० गते हत्या गरी फरार रहेका साहलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।
उक्त मिलका सञ्चालकले साहलाई काम बिगारेकोमा गाली गरेको विषयलाई लिएर त्यसको बदला लिन नातीकाजी, उनकै श्रीमती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी फरार भएका थिए । साथै जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात बनाई पहिचान समेत बदली भारतको लखनऊमा बस्दै आएका साहलाई अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी पक्राउ गर्न सफल भएको उक्त ब्युरोले जनाएको छ । उक्त घटनामा संलग्न अर्का अभियुक्त प्रताप राना समेतको खोजी भइरहेको उक्त ब्युरोले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।