सियोल । दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्तावमाथि तत्कालका लागि विचार नगर्ने बताएका छन् । दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दलका नेता तथा डेमोक्र्याटिक पार्टीका ली जे–म्युङले आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टीले देशको कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्ताव लगाउने तत्कालका लागि कुनै सोच नभएको बताएका छन् ।
लीले शनिबार फोनमार्फत दिएको जानकारीमा राज्य मामिलालाई तटस्थरूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति युन सुक योललाई शनिबार राष्ट्रिय सभाले महाभियोग लगाउने पक्षमा मतदान गरेपछि उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट निलम्बित गरिएको छ ।
राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसद्बाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौँको संख्यामा ¥याली निकालिएको थियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताएका थिए ।
कुल तीन सय संसद् सदस्य रहेको कोरियाली संसद्मा दुई सय चार सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् । मतदानमा तीन सांसद अनुपस्थित रहेको र आठ मत बदर भएको छ ।