ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेकी छिन् । पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने महत्वपूर्ण पेसा भएकाले निष्पक्ष भएर समाजलाई सत्मार्गमा लाग्न प्रेरणा दिनुपर्ने बताउदै उपाध्यक्ष भुसालले संविधानप्रदत्त अधिकार उपयोग गरेर सामाजिक परिवर्तनमा सञ्चारकर्मी लाग्नुपर्नेमा जोड दिँइन् । पत्रकारिताको अभ्यास नागरिकस्तरमा पनि हुन थालेकाले समाजलाई सही बाटोमा हिँडाउनका लागि निष्पक्ष पत्रकारिता हुनुपर्ने जोड दिदै उनले समाजमा व्याप्त विकृति, विसङ्गति एवं राज्यका गलत कार्यलाई खबरदारी गर्न पत्रकारहरू निर्भीकतापूर्वक लाग्नुपर्छ बताइन ।