काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलि पे प्लस नेटवर्क प्रयोगकर्ताहरूलाई सहजरूपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत, चीन, हङकङ, सिँगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटलीलगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरू र अलि पे प्रयोगकर्ताले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्टरपेरिएवल क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सानिमा बैंकको नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले नेपालमा पर्यटकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ । सानिमा बैंकको हाल देशका सात वटै प्रदेशमा एक सय ३४ वटा शाखा कार्यालयहरू तथा एक सय २५ वटा एटीएम सञ्जाल सञ्चालनमा रहेका छन् ।