काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण असुल गर्ने प्रकृया रोक्न माग गर्दै दायर गरेको रिट अदालतले खारेज गरिदिएको छ । म्रगलबार उच्च अदालत विराटनगर,इलाम इजलासले प्रसाईंले दायर गरेको रिट खारेज गरेको हो । यो सँग अब बैंकहरुलाई ऋण असुलीको प्रक्रिया अघि बढाउन सहज हुने भएको छ ।
मंगलबार न्यायाधीशहरु विपुल न्यौपाने र काजीबहादुर राईको संयुक्त इजलासले प्रसाईंको माग बमोजिम आदेश जारी गर्न अस्वीकार गर्दै रिट खारेज गरिदिएका हुन ।
कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको प्रक्रियामा जाने ताकेता पत्र पठाएको थियो । उक्त पत्रविरुद्ध प्रसाईंले पत्र कार्यान्वयन नगर्न र नगराउन माग गर्दै उच्च अदालत विराटनगर मा रिट दिएका थिए । प्रसाईंले २०८० असार ८ गते टीकाराम अधिकारीमार्फत कुमारी बैंकको विर्तामोड शाखालगायत बैंकविरुद्ध रिट दायर गरेका थिए ।
उक्त रिटमाथि असार १० गते न्यायाधीश गीताप्रसाद तिमल्सिनाको एकल इजलासले सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । असार २६ गते न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै तत्काल ऋण असुलिको प्रक्रिया अघि नबढाउन निर्देश गरेको थियो।
राष्ट्र बैंकका अनुसार प्रसाईंले बी एण्डसी, पूर्वाञ्चल क्यान्सर अस्पताल र पाँच तारे ‘होटल एट्रियम’ लगायतमा गरी साढे ५ अर्ब रुपैयाँ ऋण लिएका थिए । प्रसाईंले अहिलेसम्म बैंकबाट लिएको ऋणको साँवा ब्याज तिरेका छैनन् । तर, बैंकबाट ब्याजको पुँजीकरण गरी साँवा ऋण बढाउँदै आएका थिए ।
प्रसाईंले नबिल, प्रभु, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुणविल फाइनान्स लगायतबाट प्रसाईंले ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका छन् । यो सँगै अब बैंकहरुले राष्ट्र बैंकले निर्दिष्ट गरेको प्रक्रिया अनुसार ऋण असुली गर्न पाउने भएको छ ।