काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता २०८१ अन्तर्गत विजयी खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
आइतबार सम्पन्न भएको दुई दिने पुरुष र महिलातर्फका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नगद पुरस्कार र मेडल प्रदान गरेका हुन् । फ्रि स्टाइल रोल्लर स्केट च्याम्पियनसिप वार्षिकरूपमा आयोजना हुँदै आएको छ । यसपटक महिलातर्फ निर्जला श्रेष्ठ पहिलो र सन्ध्या मगर दोस्रो र निमिषा तामाङ तेस्रो भए । एक सय ५० जना महिलाबाट छनोट भएका १० जनाले तेस्रो राष्ट्रिय फ्रि स्टाइल रोल्लर स्केट च्याम्पियनसिपमा भाग लिएका थिए ।
पुरुषतर्फको खेलमा राजन मगराती पहिलो, सोहन गुरुङ दोस्रो र रोहन कुँवर तेस्रो भए । यस्तै, पुरुषतर्फबाट तेस्रो राष्ट्रिय फ्रि स्टाइल रोल्लर स्केट च्याम्पियनसिपमा सहभागी हुन दुई सय ५० जना छनौट चरणमा सामेल भएका थिए । तीमध्ये ४० जनाले प्रतिस्पर्धा गर्न पाएको आयोजक संघका केन्द्रीय सचिव दिनेश बजगाईंले जानकारी दिए । काठमाडौंको गल्फुटार भएको प्रतियोगिताअन्तर्गत प्रथम हुनेले १५ हजार द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै, प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने संघका अध्यक्ष अच्युत खनालले बताए ।