काठमाडौं, असार ३०
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आइतबार तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभामा अध्यक्ष ताराचन्द केडियाले कम्पनीको आव २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुुन् । कम्पनीका अन्य सञ्चालकहरूमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी तथा सुन्दरप्रसाद कडेल रहेका छन् ।
सभाले सञ्चालक समितिको आव २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७५/७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू, कम्पनीको आव २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, सञ्चालक समितिको अध्यक्ष र सञ्चालकहरूको बैठक भत्ता एवं अन्य सुविधाहरू निर्धारण तथा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने सामान्य प्रस्तावहरू पारित गरेको छ ।
साथै सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरू समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरू पारित गरेको छ ।
कम्पनीले विसं २०७४ मंसिर १ गतेदेखि विधिवतरूपमा जीवन बीमासम्बन्धी सेवाहरू प्रदान गर्दै आएको कम्पनीले हाल एक सयवटा शाखा तथा उपशाखा कार्यालयहरूबाट आफ्नो कार्य सञ्चालन गरिरहेको छ । कम्पनीको अधिकृत पुँजी तीन अर्ब र जारी पुँजी दुुई अर्ब १० करोड रुपैयाँ रहेकोमा जारी पुँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोडबराबरको सेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।