काठमाडौं, असार ३०
राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्य गरेबापत विभिन्न कम्पनीहरूलाई अनुुदान रकम हस्तान्तरण गरेको छ । बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गत अशोक स्टील इन्डस्ट्रिज प्रालिलाई एक करोड रूपैयाँ, सीताराम गोकुल मिल्क्सलाई २० लाख एक हजार एक सय ३१ रूपैयाँ, गोइन्का स्टील प्रालिलाई पाँच लाख ६० हजार चार सय रूपैयाँ हस्तान्तरण गरेको हो । बैंकका अनुसार मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरूलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । उनले अन्य बैंकको तुलनामा रावा बैंकको आधार दर (छ दशमलव सात प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आव्हान गरे । नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम बैंकले इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल आयोजना कार्यान्वयनको लागि प्रोजेक्ट एक्जुुकेटिभ एजेन्सी (पीईए) रूपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ । यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइनेछ ।
यस आयोजनाअन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम एक करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू कविराज अधिकारी र केशवप्रसाल लम्साल, उपकार्यकरी अधिकृतहरू देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, देवेसप्रसाद लोहनी एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका प्रतिनीधिहरूलगायतको उपस्थिति रहेको थियो ।